काठमाडौं : ‘जेनजी’ आन्दोलनमा आगजनी भएर उत्तरपुस्तिका जलेपछि परीक्षार्थीहरूले पुन: परीक्षा दिनुपर्ने भएको छ। त्रिभुवन विश्वविद्यालय र प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले पुन:परीक्षा सञ्चालन गर्ने निर्णय गर्दै परीक्षा सञ्चालन समय नै सार्वजनिक गरिसकेका छन्।
त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार वार्षिक परीक्षा प्रणाली अन्तर्गत व्यवस्थापन संकाय, माविकी तथा सामाजिकशास्त्र संकाय र शिक्षाशास्त्र संकायको भदौँ २२ गतेदेखि सञ्चालित वर्षे स्नातक तह दोस्रो वर्ष आशिक तथा मौका परीक्षा सम्पन्न भएका परीक्षाका उत्तरपुस्तिकाहरू सुरक्षाका दृष्टिले नजिकको प्रहरी चौकीमा राखिएको थियो।
तर, भदौँ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा कन्काइ आदर्श क्याम्पस परीक्षा केन्द्रको उत्तरपुस्तिका इलाका प्रहरी कार्यालय, अनारर्मान, झापा,जन ज्योती मल्टिपल क्याम्पस केन्द्रको उत्तरपुस्तिका ईलाका प्रहरी कार्यालय, चन्द्रनिगाहापुर, रौतहट, र सिद्ध रत्ननाथ क्याम्पस परीक्षा केन्द्रको उत्तरपुस्तिका इलाका प्रहरी कार्यालय, नारायणपुर दाङमा तोडफोड तथा आगजनी हुँदा उक्त कार्यालयहरूमा राखिएका भदौँ २२ र २३ गते दुई दिनका उत्तरपुस्तिकाहरू जलेर नष्ट भयो।
त्यसैले उक्त सम्पन्न परीक्षा पुन:त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको असोज २२ गतेको निर्णयानुसार रद्द गरी पुनः परीक्षा लिने निर्णय भएको त्रिवि पनिकाले जनाएको छ। त्रिवि पनिकाले सम्बन्धित परीक्षा केन्द्र तथा सो केन्द्रमा परेका क्याम्पसहरूले आ-आफ्ना विद्यार्थीहरूलाई उक्त दिनहरूका परीक्षा पुन:दिनु पर्ने जानकारी गराई दिन पनि अनुरोध गरेको छ।
सिटिइभिटीको मंसिर ४ गतेदेखि पुन:परीक्षा सञ्चालन हुने
सिटिइभिटीले जेनजी आन्दोलनको क्रममा परीक्षार्थीहरूको उत्तरपुस्तिका जलेपछि ती परीक्षा आगामी मंसिर ४ गतेदेखि पुन:परीक्षा सञ्चालन गर्ने निर्णय गरेको छ। सिटिइभिटी परीक्षा नियन्त्रण कार्यालयका सूचना अधिकारी उपेन्द्र पोखरेलले केही दिनमै परीक्षा तालिका सार्वजनिक गर्ने जानकारी दिए।
उनले भने,‘परीक्षा लिएपछि उत्तरपुस्तिका सुरक्षाको लागि सम्बन्धित नजिकैको प्रहरी चौकीमा राखिएको थियो,तर जेनजी आन्दोलनको क्रममा आगजनी भयो,त्यसैले फेरी परीक्षार्थीहरूले पुन:परीक्षा दिनुपर्ने बाध्यता आइलाग्यो,उक्त परीक्षा मंसिर ४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ। उनका अनुसार कोशी प्रदेशका र बागमती प्रदेशको डिप्लोमा र प्रि-डिप्लोमा तहका करिब १६ हजार परीक्षार्थीहरूको उत्तरपुस्तिका जलेर नष्ट भएको छ। यी सबै परीक्षार्थीहरूले पुन:परीक्षा दिनुपर्ने छ।
भदौँ २२ र २३ गते सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरूद्ध भएको जेनजी आन्दोलनमा ठूलो मानवीयसँगै सार्वजनिक र निजी सम्पतिमा क्षति पुगेको छ। सिंहदरबारभित्र रहेको शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालय नै ध्वस्त भएको छ।
त्यहाँबाट सेवा सञ्चालन गर्न सक्ने अवस्था नभएपछि हाल शिक्षा मन्त्रालयको सेवा हाल केशर पुस्तकालय (साविकमा शिक्षा मन्त्रालय रहेको) केशरमहल भवनबाट सेवा सुचारू गरिएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाका अनुसार मन्त्रालयको सिंहदबार परिसरमा रहेको भवन मर्मत सम्भार एवं सरसफाइको कार्य सम्पन्न नभएसम्म यसै भवनबाट सेवा प्रवाह हुने छ।