काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा निर्वाचन आयोगले तयारीलाई तीव्र पारेको छ। आगामी फागुन २१ गते निर्वाचन गर्नेगरी समयसीमा निर्धारण गरिएको छ। अब करिब ८८ दिन मात्रै बाँकी रहँदा आयोगसँगै राजनीतिक दलहरू पनि आन्तरिक रूपमा सक्रिय भएका छन्।
कुल २७५ सदस्यीय प्रतिनिधिसभामध्ये ११० सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने प्रावधान छ। आयोगले आजदेखि समानुपातिकतर्फको कार्यक्रम सञ्चालन थालेको छ। आज बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म राजनीतिक दलहरूले समानुपातिकतर्फ सहभागी हुन आवेदन दिने व्यवस्था गरिएको छ। आवेदन दिएका दलहरूको सूची मंसिर २४ गते प्रकाशित गरिनेछ।
समानुपातिकतर्फ सहभागी दलले पुस १३ र १४ गते उमेदवारहरूको बन्दसूची पेस गर्नुपर्नेछ। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बन्दसूचीको अन्तिम रूप माघ ३० गते सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ।
प्रत्यक्षतर्फ भने माघ ६ गते उम्मेदवारको मनोनयनपत्र दर्ता र प्रारम्भिक सूची प्रकाशन हुनेछ। माघ ७ गते उजुरी दिने, माघ ८ गते नामावली प्रकाशन गर्ने र माघ ९ गते उम्मेदवारी फिर्ता लिने तथा अन्तिम नामावली सार्वजनिकसँगै उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ ।
