काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आइतबार सातै प्रदेशका मुख्यमन्त्रीहरूसँग संयुक्त बैठक गर्दै मुलुकको राजनीतिक स्थायित्व, सुरक्षा अवस्था र आसन्न निर्वाचनका तयारीबारे विस्तृत छलफल गरेकी छिन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान राजनीतिक परिस्थितिबारे जानकारी दिँदै भनिन्, “हामी राजनीतिक नेता होइनौं, तर यो असामान्य अवस्थाले हामीलाई चुनौतीपूर्ण जिम्मेवारी दिएको छ । भदौ २३ गतेको घटनाले देशलाई नयाँ मोडमा ल्यायो, जसको सम्भावना पहिले अनुमान गर्न सकिँदैनथ्यो ।”
उनका अनुसार अन्तरिम सरकारको मुख्य प्राथमिकता संविधानको सीमाभित्र रहेर आगामी निर्वाचनलाई सफल बनाउनु हो । उनले भनिन्, “स्थायित्वको आधार नै निर्वाचित सरकार हो । निर्वाचन र राजनीतिक दल एकअर्काका परिपूरक हुन्, राजनीतिक दलबिनाको व्यवस्था सम्भव छैन ।”
प्रधानमन्त्रीले हालका आन्दोलन, विशेषगरी ‘जेनजी’ पुस्ताको सक्रियतालाई लोकतान्त्रिक अभ्यासको एउटा रूपका रूपमा लिँदै भनिन्, “सबै जेनजीहरू हाम्रा आफ्ना सन्तान हुन्— कसैले चर्का कुरा गर्छन्, कसैले परिपक्व विचार राख्छन्, तर सबै सिक्ने क्रममा छन् । आफ्ना एजेन्डा जनताबाट अनुमोदन गराउन चाहन्छन् भने पार्टी खोलेर चुनावमा आउनुपर्छ ।”
सुरक्षा तयारीबारे प्रधानमन्त्री कार्कीले प्रहरीका लागि आवश्यक साधन–सामग्री जुटाउने कार्य अघि बढेको बताइन् । “छिमेकी देश र मित्रराष्ट्रहरूले सहयोगको वाचा गरेका छन्, र गाडी खरिद प्रक्रिया सुरु भइसकेको छ,” उनले भनिन् ।
उनले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका प्रहरी संरचनामध्ये ९० प्रतिशत स्थानीय जनताकै पहलमा पुनर्निर्माण भएको उल्लेख गर्दै यसलाई “जन–प्रहरी सम्बन्ध सुदृढ गर्ने उत्कृष्ट उदाहरण” बताइन् ।
निर्वाचन आयोगको तयारीबारे प्रधानमन्त्रीले थप जानकारी दिँदै भनिन्, “आयोगलाई आवश्यक १२० प्रकारका सामग्रीमध्ये ९० प्रतिशतभन्दा बढी सामग्री उपलब्ध भइसकेका छन् । बाँकी व्यवस्थापन भइरहेको छ, र आयोगले तोकिएकै मितिमा चुनाव सम्भव भएको आश्वासन दिएको छ ।”
