सुनसरी- निर्वाचन आयोगले मतदाता शिक्षा प्रभावकारी बनाउन देशभरका सबै वडामा स्वयंसेवक खटाउने तयारी गरेको छ। जिल्ला निर्वाचन कार्यालयमार्फत ७५३ स्थानीय तहका ६ हजार ७४३ वडामा स्वयंसेवक परिचालन गरिने आयोगले जनाएको छ।
आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीका अनुसार बाल विकास सहजकर्ता, मातृ–शिशु कार्यकर्ता, महिला स्वास्थ्य स्वयंसेविका तथा सामुदायिक सेवा केन्द्रका परिचालकमध्ये अनुभवी व्यक्तिलाई प्राथमिकतामा राखी स्वयंसेवक छनोट प्रक्रिया सुरु गरिएको छ।
माघ १९ गते नै मतदाता शिक्षासम्बन्धी कार्यक्रम स्वीकृत गरिसकेको आयोगले स्वयंसेवकलाई पूर्ण रूपमा मतदाता शिक्षामा केन्द्रित गरिने जनाएको छ। मत बदर हुन नदिन मतदातालाई सही जानकारी र अभ्यास दिलाउने उद्देश्यले यो अभियान सञ्चालन गर्न लागिएको सहायक प्रवक्ता जिसीले बताए।
राष्ट्रियसभा सदस्य निर्वाचनमा समेत केही मत बदर भएको सन्दर्भलाई ध्यानमा राख्दै आयोगले मतदाता शिक्षालाई अझ सुदृढ बनाउने आवश्यकता महसुस गरेको हो।
छनोट गरिएका स्वयंसेवकलाई फागुन ३ गते सातै प्रदेशमा अनुशिक्षण दिइनेछ। त्यसपछि फागुनको पहिलो साताभित्र देशभरका सबै वडामा उनीहरूलाई परिचालन गरिने आयोगले जानकारी दिएको छ।
