सुनसरी – प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा स्वच्छ, स्वतन्त्र र निष्पक्ष मतदान सुनिश्चित गर्न आजदेखि नेपाली सेनाको नेतृत्वमा चारवटा सुरक्षा निकाय परिचालित भएका छन्। निर्वाचन सुरक्षा सुदृढ पार्न सरकारले पहिले नै प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना २०८२ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको थियो।
आगामी फागुन २१ गते हुने निर्वाचनलाई ध्यानमा राख्दै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई एकीकृत रुपमा परिचालन गरिएको छ। योजना अनुसार मतदानस्थलको सुरक्षा गर्ने ‘निर्वाचन प्रहरी’ पनि खटाइनेछन्।
नेपाल प्रहरी र निर्वाचन प्रहरीले मतदानस्थलको भित्री घेराको सुरक्षा सम्हाल्नेछन् भने सशस्त्र प्रहरी बलले दोस्रो सुरक्षा घेरा र नेपाली सेनाले बाहिरी सुरक्षा घेराको जिम्मेवारी लिनेछ। १६५ निर्वाचन क्षेत्रमा नेपाली सेना बुधबारदेखि परिचालित हुनेछ।
राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर ११ गते प्रधानमन्त्रीको सिफारिस तथा मन्त्रिपरिषद्को निर्णयअनुसार सेनाको परिचालन स्वीकृत गरेका थिए। सेनाले आवश्यकताअनुसार ‘वेस’ खडा गर्ने र संयुक्त गस्ती गर्ने तयारी गरेको छ।
सेनाका प्रवक्ता राजाराम बस्नेतका अनुसार करिब ८० हजार नेपाली सेना निर्वाचन सुरक्षा व्यवस्थामा खटिनेछन्। एकीकृत सुरक्षा योजनाअनुसार, मतदानपूर्व मुख्य जिम्मेवारीमा मतपत्र छपाइ, ढुवानी, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी र मतगणनास्थल सुरक्षा समावेश छन्।
निर्वाचन अवधिभर विमानस्थल, कारागार लगायत महत्त्वपूर्ण संरचनाको सुरक्षा पनि नेपाली सेनाको जिम्मेवारी हुनेछ। मतदानको समयमा सेनाले राजनीतिक दल, उम्मेदवार, मतदाता र कर्मचारीलाई तेस्रो सुरक्षा घेरामा सुरक्षा सुनिश्चित गर्नेछ।
यसपटक प्रतिनिधिसभा सदस्यका लागि ३,४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ। देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदातालाई लक्षित गर्दै १०,९६७ मतदानस्थल र २३,११२ मतदान केन्द्र निर्धारण गरिएको छ।
नेपाल प्रहरीले ७७ हजार कर्मचारी परिचालन गर्ने योजना बनाएको छ। यद्यपि विद्यमान जनशक्तिले पर्याप्त नहुँदा १ लाख ३३ हजार निर्वाचन प्रहरी थप भर्ना गरिएको छ। मतदानस्थललाई अतिसंवेदनशील, संवेदनशील र सामान्यमा वर्गीकृत गरेर सुरक्षा व्यवस्था मिलाइएको छ।
सशस्त्र प्रहरी बलबाट ३४,५७६ जना र निर्वाचन प्रहरी १५,११० जना गरी कुल ४९,६८६ जना परिचालित हुनेछन्। उच्च सतर्कताका साथ, कुनै अप्रिय घटना रोक्न सशस्त्र प्रहरी १० मिनेटभित्र घटनास्थलमा पुग्ने व्यवस्था गरिएको छ।
