सुनसरी— नेकपा एमालेका महासचिव शंकर पोखरेलले झापा निर्वाचन क्षेत्र–५ बाट पार्टी अध्यक्ष केपी शर्मा ओली सहजै विजयी हुने दाबी गरेका छन्। एमाले निकट प्रेस चौतारीले शुक्रबार काठमाडौँमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनले उक्त क्षेत्रमा एमाले सुरक्षित अवस्थामा रहेको बताएका हुन्।
झापा–५ मा ओलीका प्रतिस्पर्धीका रूपमा रास्वपाका बालेन शाहलाई हेरिएको विषयमा सञ्चारकर्मीले सोधेको प्रश्नमा पोखरेलले त्यस्तो आकलन मिडियामा मात्र सीमित रहेको टिप्पणी गरे। उनले बालेन पक्षधर मिडियाले हल्ला फैलाएको आरोप लगाउँदै वास्तविक मतदाताको आधारमा एमाले मजबुत रहेको जिकिर गरे।
पोखरेलले झापा–५ का मतदातालाई राजनीतिक रूपमा सचेत समुदायका रूपमा उल्लेख गर्दै विगतका लोकतान्त्रिक आन्दोलनहरूमा उक्त क्षेत्रका जनताले नेतृत्वदायी भूमिका खेलेको स्मरण गरे। “त्यहाँका जनता पपुलिज्म र अराजकतावादको प्रभावमा परेर परिणाम उल्ट्याउने खालका छैनन्,” उनले भने।
एमाले संगठित र व्यवस्थित पार्टी भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनलाई पनि पार्टीले संस्थागत रूपमा अघि बढाइरहेको बताए। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको कार्यक्रम अगाडि सारे पनि आचारसंहिताका कारण औपचारिक प्रचार अभियान सुरु हुन नसकेको उनको भनाइ थियो। तोकिएको समयपछि प्रचार अभियान तीव्र रूपमा अघि बढ्ने उनले बताए।
महासचिव पोखरेलका अनुसार एमालेले फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारी गरिरहेको छ।
