सुनसरी — आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आयोगले मतदाता सचेतना कार्यक्रमलाई तीव्र बनाएको छ। मतदातालाई मतदान प्रक्रिया बुझाउन सहज होस् भन्ने उद्देश्यले आयोगले जिल्ला र निर्वाचन क्षेत्रअनुसार फरक–फरक नमूना मतपत्र सार्वजनिक गरेको जनाएको छ।
आयोगका अनुसार सातै प्रदेशका निर्वाचन क्षेत्रको संरचनाअनुसार मतपत्रको ढाँचा तयार गरिएको छ। एउटामात्र निर्वाचन क्षेत्र भएका जिल्लाका लागि एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाका लागि अर्को प्रकारको नमूना मतपत्र तयार गरिएको छ। उम्मेदवारको संख्याअनुसार पनि मतपत्रको आकार फरक हुने व्यवस्था गरिएको छ।
धेरै उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा मतपत्र ठूलो आकारको हुनेछ भने कम उम्मेदवार भएका क्षेत्रमा सानो आकारको मतपत्र प्रयोग गरिने आयोगले जनाएको छ। सबैभन्दा धेरै निर्वाचन क्षेत्र र उम्मेदवार रहेको काठमाडौं जिल्लामा प्रयोग हुने मतपत्र सबैभन्दा ठूलो आकारको रहने बताइएको छ।
कर्णाली प्रदेशका सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एक–एक निर्वाचन क्षेत्र रहेका छन् भने दैलेख र सुर्खेतमा दुई–दुई निर्वाचन क्षेत्र कायम छन्। ती जिल्लाका नमूना मतपत्र सार्वजनिक भइसकेका छन्।
त्यसैगरी सुदूरपश्चिम प्रदेशअन्तर्गत बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एक–एक निर्वाचन क्षेत्र छन्। अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेका छन्। यी सबै क्षेत्रका नमूना मतपत्र पनि सार्वजनिक गरिएको आयोगले जनाएको छ।
आयोगका अनुसार अन्य जिल्लाका मतपत्रहरू पनि क्रमशः सार्वजनिक गरिनेछन्। हाल जनक शिक्षा सामग्री केन्द्रमा प्रत्यक्षतर्फका मतपत्र छपाइ कार्य जारी छ भने समानुपातिक प्रणालीअन्तर्गतका मतपत्र छपाइ सम्पन्न भइसकेको छ।
नमूना मतपत्र प्रयोग गरेर देशभर मतदाता शिक्षा कार्यक्रम सञ्चालन भइरहेको र ती सामग्री मतदान केन्द्रसम्म पुर्याउने कामसमेत अघि बढाइएको आयोगले जानकारी दिएको छ।
