सुनसरी- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आफ्नो सरकार बनेको दिनदेखि दीनदुखी, किसान र मजदुरको अधिकार र सम्मान फर्काउने दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत उनले भने, “श्रम संस्कृतिको सरकार आइसकेपछि दीनदुखी, किसान, मजदुरको दिन फर्किनेछ। यो माटोको श्रम गर्नेहरूको देश बन्नेछ। काम गरिखाने सहज वातावरण पनि सुनिश्चित गरिनेछ।”
साम्पाङले सरकारको पहिलो प्राथमिकता श्रम गर्ने वर्गलाई सशक्त बनाउनु र उनीहरूको जीवनस्तर उकास्नु हुने बताएका छन्। उनका अनुसार, यसका लागि कानुनी, सामाजिक र आर्थिक पहलहरू समेटेर योजनाहरू अघि बढाइनेछ।
उनको यो घोषणाले विशेषगरी किसान र मजदुर समुदायमा उत्साह र आशा बढाएको छ। साम्पाङले अबको चुनावी अभियानमा श्रमिको अधिकार र संरक्षणलाई मुख्य एजेन्डा बनाउने संकेत गरेका छन्।
