सुनसरी— कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनमा कांग्रेस–एमाले गठबन्धनले महिला र दलिततर्फ आफ्नो प्रभुत्व कायम गरेको छ। कांग्रेस–एमाले गठबन्धनबाट महिलातर्फ रोशनी मेचे निर्वाचित भएकी छन्। उनले नेकपाकी नमिता न्यौपानेलाई पराजित गरेकी हुन्।
त्यसैगरी दलिततर्फ पनि गठबन्धनकै उम्मेदवार सोमनाथ पोर्तेल निर्वाचित भएका छन्। उनले नेकपाकै खेमका उम्मेदवार सुन्दासलाई पराजित गरेका छन्।
यसअघि कांग्रेसका सुनील थापा निर्वाचित भए, जसलाई निर्विरोध विजयी घोषित गरिएको थियो।
कोशी प्रदेशमा राष्ट्रिय सभा निर्वाचनका लागि कुल ९३ प्रदेश सभा सदस्य र २७४ स्थानीय तह प्रतिनिधि मतदानमा सहभागी हुनुपर्ने व्यवस्था थियो। तर मतदान प्रक्रियामा ५ जना प्रदेश सभा सदस्य र ९ जना स्थानीय तहका पदाधिकारीले मतदानमा भाग लिएनन्।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन बहिष्कार गरेको थियो। कोशी प्रदेश सभामा राप्रपाका ६ जना सांसद छन्। तीमध्ये संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्य निर्वाचनमा उम्मेदवारी दिनका लागि प्रदेश सांसद पदबाट राजीनामा दिइसकेका थिए।
बाँकी ५ जना सांसद—सभामुख अम्बरबहादुर विष्टसहित गोपालबहादुर विश्वकर्मा, नीमसरी राजवंशी, प्रेमराज थामसुहाङ र सबिना बजगाईंले मतदान गरेका थिएनन्।
स्थानीय तहबाट पनि राप्रपाका निर्वाचित जनप्रतिनिधिहरूले मतदानमा सहभागिता जनाएनन्। मतदान नगर्नेहरूमध्ये दमक नगरपालिकाका प्रमुख रामकुमार थापा, भद्रपुरकी उपप्रमुख राधा कार्की, हल्दीबारी गाउँपालिकाका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देन र उपाध्यक्ष लक्ष्मीदेवी मैनाली रहेका छन्।
