सुनसरी- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ कडाइका साथ लागू गर्न निर्देशन दिएको छ। मन्त्रालयले सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै आ–आफ्नो क्षेत्रभित्र आचारसंहिता कार्यान्वयन गराउन आग्रह गरेको हो।
निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता सम्बन्धित निकायहरूले पनि आफ्नो कार्यक्षेत्रमा लागू गराउन पत्राचार गरिसकेको मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा उल्लेख छ।
सरकारले २०८२ साल पुस १२ गते नेपाल राजपत्रमार्फत निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। आयोगले अर्को सूचना जारी नगरेसम्मका लागि उक्त आचारसंहिता लागू रहने स्पष्ट पारेको छ।
माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गरिएको हो। मन्त्रालयले आवश्यक जानकारी तथा कार्यान्वयनका लागि सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई विशेष ध्यान दिन आग्रह गरेको छ।
निर्वाचन आचारसंहितामा परिच्छेद १०, अनुसूची ५ र दफा ५५ सम्बन्धी व्यवस्था समावेश छन्।
