सुनसरी- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता बालेन शाह चुनावी प्रचारका क्रममा इलाम पुगेका छन्। इलाममा उनले घरदैलो अभियान चलाउँदै मतदातासँग प्रत्यक्ष संवाद गरेका छन् भने पार्टीका कार्यकर्ता र समर्थकसँग पनि भेटघाट गरेका छन्।
इलाममा भएको घरदैलो कार्यक्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–१ का रास्वपा उम्मेदवार विमल गदाल र क्षेत्र नम्बर–२ का उम्मेदवार गोकुलबहादुर राई बालेनसँगै सहभागी थिए। बालेनले आफ्ना दलका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दै मतदातामाझ रास्वपाको एजेन्डा प्रस्तुत गरेका थिए।
झापा क्षेत्र नम्बर–५ बाट प्रतिनिधिसभा उम्मेदवार रहेका बालेन शाहले बिहीबार बिहान इलाममा पार्टीका उम्मेदवारको पक्षमा भोट मागे। यसअघि मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्न प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गरेका उनले बुधबार दमकस्थित सम्पर्क कार्यालयमा समर्थक तथा पार्टी कार्यकर्तासँग भेटघाट गरेका थिए।
चुनावी प्रचारलाई तीव्र बनाउने क्रममा बालेनले झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा पुगेर रास्वपाका उम्मेदवारसँग भेटघाट गरेका छन्। रास्वपाबाट प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारिएका बालेनलाई झापा–५ मा उम्मेदवार बनाए पनि, पार्टीले अन्य निर्वाचन क्षेत्रमा समेत उनको लोकप्रियतालाई प्रयोग गर्दै प्रचार अभियान विस्तार गर्ने रणनीति अपनाएको देखिन्छ।
