सुनसरी । प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ उम्मेदवारी दर्ता उत्साहजनक रूपमा सम्पन्न भएको छ। पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत देशभरबाट हालसम्म २ हजार ९२५ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार दर्ता भएका उम्मेदवारमध्ये ३३६ जना महिला र २ हजार ५८९ जना पुरुष छन्। यस्तै अपाङ्गता भएका ८५ जना र पिछडिएको क्षेत्रबाट १३८ जना उम्मेदवार सहभागी भएका छन्। यसले निर्वाचन प्रक्रियामा समावेशिताको अभ्यास क्रमशः विस्तार हुँदै गएको संकेत गरेको आयोगको भनाइ छ।
निर्वाचन आयोगले आज उम्मेदवारको विरोधमा उजुरी दर्ता गर्न सकिने व्यवस्था मिलाएको छ। आयोगले सार्वजनिक गरेको निर्वाचन तालिकाअनुसार उजुरी परेपछि माघ ८ गते बेलुका ५ बजेसम्म मनोनयन पत्र तथा उजुरीमाथि जाँचबुझ गरी उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ।
त्यसैगरी माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ। सोही दिन दिउँसो उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरी साँझसम्म निर्वाचन चिह्न वितरण गरिने आयोगले जनाएको छ।
मनोनयन दर्ता कार्यक्रम देशभर शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न भएको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताएका छन्। उनले राजनीतिक दल, उम्मेदवार तथा सुरक्षाकर्मीको सक्रिय सहकार्यका कारण प्रक्रिया सफल भएको उल्लेख गर्दै आगामी निर्वाचन कार्यक्रमहरू पनि सबैको सहयोगमा सफल हुने विश्वास व्यक्त गरेका छन्।
