सुनसरी- इनरुवा नगरपालिका–४ स्थित युनिक एकेडेमीमा कक्षा १० का विद्यार्थीबीच भएको सामान्य विवाद एकाएक उग्र बन्दै विद्यालय, प्रहरी कार्यालय र राजमार्गसम्म फैलिएको छ।
मङ्गलबार बिहान सरस्वती पूजाको चन्दालाई लिएर कक्षा १० मा अध्ययनरत विद्यार्थीहरूबीच भनाभन भएको थियो। विवादकै क्रममा आफ्ना छोरालाई कुटपिट गरिएको दाबी गर्दै इनरुवा–४ निवासी ४२ वर्षीय लालदेव ठाकुर विद्यालय परिसर पुगेका थिए।
आफू सशस्त्र प्रहरीमा कार्यरत रहेको बताउने ठाकुरले कक्षा १० मा अध्ययनरत सौरम मेहता, सन्दीप मेहता लगायतका विद्यार्थीमाथि कुटपिट गरेको आरोप लागेको छ। ठाकुरले भने आफ्ना छोरामाथि सहपाठीहरूले चन्दाको विषयमा आक्रमण गरेपछि आफू विद्यालय पुगेको बताएका छन्।
घटनापछि आक्रोशित विद्यार्थीहरूले अभिभावकको विद्यालयभित्रै भएको आक्रमणको विरोध गर्दै ठाकुरविरुद्ध नाराबाजीसहित जिल्ला प्रहरी कार्यालय सुनसरी अगाडि धर्ना दिएका थिए। प्रदर्शनकै क्रममा ठाकुरको प्रदेश नम्बर १–०२–००४९ प ५९९४ नम्बरको मोटरसाइकलमा आगजनी गरिएको छ।
विद्यार्थी आन्दोलनका कारण केही समय पूर्व–पश्चिम राजमार्ग अवरुद्ध हुनुका साथै जिल्ला प्रहरी कार्यालय परिसरमा तनावपूर्ण अवस्था सिर्जना भएको थियो। जिल्ला प्रहरी कार्यालय सुनसरीले घटनामा संलग्न सबैमाथि निष्पक्ष अनुसन्धान र कारबाहीको प्रक्रिया अघि बढाइने आश्वासन दिएपछि स्थिति सामान्य बन्दै सडक सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काका अनुसार घटनामा संलग्न आरोपित सशस्त्र प्रहरीको परिचर पदमा कार्यरत लालदेव ठाकुरसहित पाँच जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको छ।
