सुनसरी। पूर्वी तराईमा बसोबास गर्ने राजवंशी समुदाय तथा अन्य आदिवासी समुदायले प्रत्येक वर्ष पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउँदै आएका छन्। यस वर्ष पनि देशका विभिन्न स्थानमा भाक्काको प्रवर्द्धन, सांस्कृतिक कार्यक्रम र परम्परागत खानाका प्रदर्शनीसहित दिवस मनाइँदै छ।
कहिल्यै राजवंशी समुदायभित्र मात्र सीमित रहेको भाक्का पछिल्लो समय विभिन्न जातजाति र समुदायमा लोकप्रिय बन्दै गएको छ। यसको स्वाद, सरलता र स्वास्थ्य लाभका कारण भाक्काले सांस्कृतिक सीमाना नाघ्दै साझा परिकारको पहिचान बनाउन थालेपछि पुस २९ गतेलाई राष्ट्रिय भाक्का दिवसका रूपमा मनाउने परम्परा सुरु गरिएको हो।
भाक्का विशेषगरी हिउँद याममा खाने परम्परागत परिकार हो। चामलको पिठोलाई पानीको बाफमा पकाएर तयार गरिने भाक्का सामान्यतया टमाटर, तिल वा खुर्सानीको चटनीसँग खाने गरिन्छ। हल्का, पचाउन सजिलो र पोषणयुक्त भएकाले यसलाई स्वास्थ्यका दृष्टिले पनि उपयोगी मानिन्छ।
आज भाक्का केवल खानाका रूपमा मात्र सीमित छैन, यो राजवंशी समुदायको सांस्कृतिक पहिचान र परम्पराको प्रतीक बनेको छ। पूर्वी नेपालको प्रमुख परिकारका रूपमा स्थापित हुँदै गएको भाक्काको मौलिकता, पोषणीय महत्व र सांस्कृतिक मूल्यलाई जोगाउँदै नयाँ पुस्तामा यसको महत्व हस्तान्तरण गर्नु आजको आवश्यकता रहेको सरोकारवालाहरू बताउँछन्।
