सुनसरी—नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव प्रस्तुत गरेका छन्। जारी विशेष महाधिवेशन वैधानिक भएको दाबी गर्दै उनले केन्द्रीय समितिबाटै विशेष महाधिवेशन बोलाउने प्रयास अन्तिमसम्म भए पनि सफल नभएकाले बाध्यकारी रूपमा आफूहरूले यो प्रक्रिया अघि बढाएको स्पष्ट पारे।
थापाले प्रस्तुत गरेको प्रस्तावले नेपाली कांग्रेसलाई संगठनात्मक रूपमा गतिशील, नैतिक रूपमा सुदृढ र जनउत्तरदायी पार्टीका रूपमा पुनः स्थापित गर्ने लक्ष्य लिएको छ। ‘कांग्रेस बदल्न’का लागि आयोजना गरिएको यो विशेष महाधिवेशनले बदलिएको कांग्रेसमार्फत देश बदल्ने सन्देश दिनुपर्ने प्रस्तावमा उल्लेख छ। पार्टीभित्र देखिएको उदासिनता हटाउँदै कार्यकर्ता, समर्थक र शुभेच्छुकमा नयाँ ऊर्जा र उत्साह भर्ने संकल्प गरिएको छ।
प्रस्तावको महत्वपूर्ण अंश नवयुवा पुस्ताको आन्दोलनसँग सम्बन्धित छ। बि.सं. २०८२ भदौ २३ र २४ गते जेन–भी (Gen Z) को आह्वानमा भएको आन्दोलनले नयाँ राजनीतिक चेतना सिर्जना गरेको उल्लेख गर्दै कांग्रेसले ती घटनामा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ। साथै दमन, हिंसा र गम्भीर मानवअधिकार उल्लङ्घनका घटनाको स्वतन्त्र र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट र प्रतिबद्ध रहेको प्रस्तावमा उल्लेख गरिएको छ।
यस विशेष महाधिवेशनले कांग्रेसलाई लोकतन्त्रप्रति निष्ठावान र समुन्नत नेपालको नेतृत्व गर्न सक्षम शक्तिका रूपमा पुनः उभ्याउने ऐतिहासिक अवसर भएको थापाको भनाइ छ।
