सुनसरी- इटहरी उप–महानगरपालिका वडा नम्बर ९ स्थित रंगशाला परिसरभित्र रहेको इलाका प्रहरी कार्यालय इटहरीको पुनर्स्थापित भवन बुधवार औपचारिक रूपमा उद्घाटन गरिएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते आगजनी भएपछि पूर्ण रूपमा ध्वस्त भएको प्रहरी कार्यालय अब पुनः आफ्नै स्थानबाट सेवा दिन तयार भएको हो।
भवन ध्वस्त भएपछि प्रहरी टोलीले झण्डै तीन महिनासम्म इटहरी–२० तरहरास्थित प्रहरी चौकीबाट अस्थायी रूपमा सेवा सञ्चालन गर्दै आएको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय इटहरी भवन पुनर्स्थापना सहयोग समिति गठन गरी मर्मत तथा पुनर्निर्माणको काम अगाडि बढाइएको थियो।
उपभोक्ता समितिका अनुसार भवन मर्मत तथा निर्माणमा कुल ५३ लाख ३५ हजार ८०७ रुपैयाँ खर्च भएको छ। जसमा इटहरी उप–महानगरपालिकाको ४४ लाख ३७ हजार ५२ रुपैयाँ सहयोग रहेको छ भने बाँकी ९ लाख ४३ हजार १२५ रुपैयाँ उपभोक्ता समितिबाट जुटाइएको हो।
वडा नम्बर ९ का वडाध्यक्ष जितेन्द्र थापाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा इटहरी उप–महानगरपालिका प्रमुख हेमकर्ण पौडेलले भवन उद्घाटन गरेका हुन्। कार्यक्रममा उप–प्रमुख संगीता कुमारी चौधरी, सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक केशवकुमार थेवे तथा इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास हमाललगायतको उपस्थिति रहेको थियो।
कार्यक्रममा बोल्दै डीएसपी हमालले पुनर्स्थापित भवनबाट सेवा प्रवाह अझ प्रभावकारी, सुरक्षित र नागरिकमैत्री हुने विश्वास व्यक्त गरे। उद्घाटन समारोहकै अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्ति तथा संस्थाहरूलाई सम्मानसमेत गरिएको थियो।
