सुनसरी- मोरङको सुनवर्षी नगरपालिका–२ का वडा सचिव ईश्वरराज रेग्मी बलात्कार आरोपमा पुर्पक्षका लागि कारागार चलान भएका छन्। जिल्ला अदालत मोरङले उनीमाथि लागेको अभियोगको प्रारम्भिक सुनुवाइपछि थुनामै राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो।
जिल्ला अदालतका न्यायाधीश मणिराम ज्ञवालीको इजलासले ३१ वर्षीय रेग्मीलाई थुनामा पठाउने निर्णय गरेको हो। खोटाङको ऐँसेलुखर्क गाउँपालिका–७ स्थायी घर भएका रेग्मीलाई प्रहरीले गत मंसिर २१ गते पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो।
रेग्मीमाथि कक्षा १० मा अध्ययनरत १७ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोप छ। पीडित पक्षले दिएको जाहेरीअनुसार मंसिर १४ गते राति बालिकालाई आफ्नै कोठामा राखी बलात्कार गरेको आरोप लगाइएको छ।
घटनाबारे प्राप्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको र अदालतको आदेशपछि रेग्मीलाई कारागार पठाइएको प्रहरीले जनाएको छ।
