सुनसरी । झापा र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित ६ जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा झापाको अर्जुनधारा नगरपालिका–११ स्थित बसपार्क क्षेत्रमा खटिएको अस्थायी प्रहरी पोष्टको टोलीले चार जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा अनु बोहरा, पारस श्रेष्ठ, पाँचथरको फिदिम नगरपालिका–१ का सञ्जय लिम्बू र अर्जुनधारा–६ का लेखराज गुरुङ रहेका छन्। उनीहरूको साथबाट प्रहरीले ३० मिलिग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
यसैगरी, सुनसरीको धरान उपमहानगरपालिका–१८ बाट इलाका प्रहरी कार्यालय धरानले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। धरान–१० का युवराज कार्कीको साथबाट ट्रामाडोल र स्पास्मो गरी जम्मा ९०० पिस ट्याब्लेट बरामद गरिएको छ भने धरान–१३ का सानु सुनुवारलाई १८ एम्पुल डाइजोपामसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
