सुनसरी- थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले विभिन्न कन्सुलर र राहदानी सेवामा लाग्ने शुल्कमा समायोजन गरेको छ। दूतावासले जनाएको छ कि नयाँ शुल्क स्थानीय मुद्रा थाई भाटमा विनिमय दरको परिवर्तनअनुसार निर्धारण गरिएको हो र यो २०८२ पुस १७ गतेदेखि लागू हुनेछ।
नयाँ दरअनुसार, ३४ पृष्ठको साधारण राहदानीको शुल्क ३,२०० भाटबाट २,६०० भाट र ६६ पृष्ठको साधारण राहदानी ५,२०० भाटबाट ४,२०० भाटमा घटाइएको छ। हराएको वा नष्ट भएको राहदानीका लागि शुल्क ४,८०० भाटबाट ३,९०० भाट कायम गरिएको छ भने १० वर्षभन्दा कम उमेरका नाबालकका लागि शुल्क १,६०० भाटबाट १,३०० भाट तोकिएको छ।
कन्सुलर सेवामा पनि शुल्कमा कटौती गरिएको छ। विभिन्न कागजात प्रमाणीकरण, मञ्जुरीनामा, रोजगार/सेवा सम्झौता, विवाह दर्ता, शैक्षिक प्रमाणपत्र, नाता प्रमाणन, नागरिकता तथा जन्म–मृत्यु दर्ताजस्ता सेवाको शुल्क १,६०० भाटबाट १,३०० भाट कायम गरिएको छ। अन्य प्रमाणपत्रहरू जस्तै बैंक/वित्तीय कागजात, प्रहरी रिपोर्ट, चिकित्सकको प्रमाणपत्र, उत्पत्तिको प्रमाणपत्रको शुल्क २,००० भाटबाट १,६०० भाटमा घटाइएको छ।
गैरआवासीय नेपाली परिचयपत्रसम्बन्धी शुल्क पनि समायोजन गरिएको छ। दर्ता निवेदनको शुल्क ८०० भाटबाट ६५० भाट, नेपाली मूलका विदेशी नागरिकको परिचयपत्र १०,००० भाटबाट ८,००० भाट र विदेशमा बस्ने नेपाली नागरिकको परिचयपत्र २,००० भाटबाट १,६०० भाट कायम गरिएको छ।
दूतावासले सेवा लिन आउने सबै सेवाग्राहीलाई नयाँ शुल्कअनुसार राजस्व बुझाउन अनुरोध गरेको छ।
