सुनसरी- नेपाली मौलिक पहिचानलाई पुनः जीवन्त बनाउने उद्देश्यका साथ आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नारासहित युवाको अगुवाइमा सुरु भएको यो अभियानले १३ वर्ष पूरा गरेको छ।
दौरा–सुरुवाल, टोपी र गुन्यु–चोली जस्ता राष्ट्रिय पोसाकलाई नयाँ पुस्तामाझ स्थापित गर्ने लक्ष्यसहित विसं २०७० देखि यो दिवस मनाउन थालिएको हो। समयक्रममा औपचारिक प्रयोगबाट ओझेलमा परेका राष्ट्रिय पोसाकलाई पुनः सामाजिक जीवनमा फर्काउने अभियानका रूपमा यसलाई लिइएको छ।
दिवसका अवसरमा आज राजधानीसहित देशका विभिन्न स्थानमा युवाहरू राष्ट्रिय पोसाकमा सजिएर सार्वजनिक कार्यक्रममा सहभागी भएका छन्। सामाजिक सञ्जालमा पनि नेपाली पहिरनमा सजिएका तस्बिरहरू व्यापक रूपमा साझा भइरहेका छन्, जसले अभियानलाई अझ फैलाउन मद्दत पुगेको छ।
जनवरी १ तारिखलाई राष्ट्रिय पोसाक दिवसका रूपमा मनाउने परम्पराले पछिल्ला वर्षहरूमा नेपाली पोसाकप्रतिको चासो बढाएको आयोजकहरूको भनाइ छ। विगतमा राष्ट्रिय पोसाकको औपचारिक प्रयोग हटाइएपछि स्वस्फूर्त रूपमा सुरु गरिएको यो अभियान अहिले सांस्कृतिक चेतनाको प्रतीक बन्दै गएको छ।
आयोजक संस्थाहरूका अनुसार राष्ट्रिय पोसाक केवल पहिरन मात्र नभई नेपाली इतिहास, संस्कृति र पहिचानको जीवन्त दस्तावेज हो। यही सन्देश पुस्तान्तरण गर्न दिवसलाई निरन्तरता दिइँदै आएको उनीहरूको भनाइ छ।
