सुनसरी- समयको पाना फेरिँदै आजदेखि इस्वी संवत् २०२६ प्रारम्भ भएको छ। ग्रेगोरियन पात्रोअनुसार नयाँ वर्षको आगमनसँगै आज विश्वभरका मानिसहरूले एक–आपसमा शुभकामना साटासाट गर्दै नयाँ सुरुवातको उत्सव मनाएका छन्।
सौरमासमा आधारित ग्रेगोरियन पात्रोअनुसार चलाइने इस्वी संवत् विश्वव्यापी रूपमा स्वीकारिएको समय गणनाको आधार हो। यही कारण नयाँ वर्षको पहिलो दिनलाई धेरैले उत्साह, आशा र नयाँ योजनासहित स्वागत गर्ने गर्छन्।
विभिन्न संवत् र पात्रोको अध्ययन–अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार वैदिककालदेखि सौरमास र चन्द्रमासको समन्वयमा विकसित विक्रम संवत् पूर्णतः वैज्ञानिक नमानिए पनि यसको ऐतिहासिक र सांस्कृतिक महत्व गहिरो छ। तर, व्यवहारिक सहजता र अन्तर्राष्ट्रिय प्रयोगका कारण इस्वी संवत्को प्रभाव दिनानुदिन विश्वभर फैलँदै गएको उनी बताउँछन्।
पछिल्ला वर्षहरूमा नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्षलाई विशेष उत्सवका रूपमा मनाउने चलन बढ्दो छ। होटल, रेस्टुरेन्ट, पर्यटकीय क्षेत्रदेखि सामाजिक सञ्जालसम्म नयाँ वर्षको रौनक देखिन्छ, जसले नेपाली समाजमा समयसँगै संस्कृतिको रूपान्तरण भइरहेको संकेत गर्छ।
