सुनसरी- बच्चाको जन्मपछि आमाबुबाको सबैभन्दा ठूलो चाहना बच्चाले चाँडै प्रतिक्रिया दिनु र बोल्न सुरु गर्नु हो। तर विशेषज्ञहरूका अनुसार बच्चाहरूको बोली विकास क्रमिक प्रक्रिया हो र सबै बच्चा एउटै उमेरमा बोल्न थाल्दैनन्।
सामान्यतया बच्चाले ४ महिनाको उमेरदेखि विभिन्न आवाज निकाल्दै प्रतिक्रिया दिन सुरु गर्छ। ६ महिनापछि ‘‘मामा’, ‘बाबा’ जस्ता ध्वनिहरू दोहोर्याउन थाल्छन्। ८ महिनासम्म केही बच्चाले मम्मी वा बाबा भन्न सक्छन् भने कतिपयले अझै स्पष्ट शब्द नबोल्न पनि सक्छन्। एक वर्ष पुग्दासम्म अधिकांश बच्चाले कम्तीमा एउटा शब्द बोल्न थाल्ने अपेक्षा गर्न सकिन्छ।
बोली विकासमा पारिवारिक वातावरणको ठूलो भूमिका हुन्छ। बच्चासँग दैनिक रूपमा कुरा गर्ने, खेलाउने, खाना खुवाउँदा वा कपडा लगाउँदा वस्तुको नाम उच्चारण गर्ने बानीले बच्चालाई बोल्न प्रेरित गर्छ। चित्र भएको पुस्तक देखाउने, गीत गुनगुनाउने र राइम सुनाउने अभ्यास पनि प्रभावकारी मानिन्छ।
विशेषज्ञहरू मोबाइल जस्ता स्क्रिनबाट टाढा राख्न र प्रत्यक्ष संवादमा जोड दिन सुझाव दिन्छन्। ढिलो बोल्दैमा अत्यधिक चिन्ता लिनु नपर्ने भए पनि, धेरै ढिलाइ भएमा चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ।
