विराटनगर – मोरङको जहदा गाउँपालिकास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा प्रहरीले हवाई फायर गरी गाँजा कारोबारी नियन्त्रणमा लिएको छ। शनिबार राति भएको उक्त कारबाहीमा ३३० किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्।
जहदा गाउँपालिका–२ तारिगामा राति करिब १०ः३० बजे प्रहरी टोलीलाई देखेपछि टाउकोमा बोकेको गाँजाको बोरा फालेर दुई व्यक्ति फरार हुन खोजेका थिए। उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले चाइनिज पेस्तोलबाट एक राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको अररिया चन्दामोहन निवासी २४ वर्षीय अबुल हसन र ३० वर्षीय सोहेल खान रहेका छन्। बरामद गाँजा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लैजाने तयारीमा रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मोरङ प्रहरी प्रमुख कवित कटवालले गाँजा ओसारपसार भइरहेको अवस्थामा हवाई फायर गरी दुई जनालाई पक्राउ गरिएको पुष्टि गर्दै घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
