मोरङ- मोरङका प्रमुख सरकारी कार्यालयहरूमा लामो समयदेखि मौलाउँदै आएको बिचौलियाको गतिविधिमाथि प्रशासन र प्रहरीले संयुक्त रूपमा कडा प्रहार गरेका छन्। जिल्ला प्रशासन कार्यालय मोरङ र मालपोत कार्यालय विराटनगरमा एकैसाथ गरिएको कारबाहीमा ३० जना बिचौलिया पक्राउ परेका छन्।
सेवाग्राहीलाई छिटो काम गराइदिने प्रलोभन देखाउँदै रकम असुल्ने र सरकारी कर्मचारीको नाम जोडेर त्रास सिर्जना गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो। मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार मालपोत कार्यालयबाट २० जना र जिल्ला प्रशासन कार्यालयबाट १० जना पक्राउ परेका हुन्।
पक्राउ परेकामध्ये दुई जना महिलालाई आवश्यक परेमा उपस्थित हुने सर्तमा छाडिएको छ भने बाँकीलाई जिल्ला प्रहरी कार्यालयमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलको नाम प्रयोग गरी रकम मागिएको गुनासो आएपछि प्रशासन र प्रहरी संयुक्त ‘एक्सन’मा उत्रिएको बताइएको छ। सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार बिचौलियाहरूले ‘बिचौलिया बिना सरकारी काम हुँदैन’ भन्ने गलत धारणा फैलाउँदै सेवाग्राहीसँग मनपरी रकम असुल्दै आएका थिए।
अनुगमनका क्रममा कार्यालय परिसरमै सामान्य फोटोकपीको ५० रुपैयाँसम्म लिने गरिएको समेत फेला परेको प्रशासनले जनाएको छ।
यसैबीच, मालपोत कार्यालय विराटनगरमा लेखापढी व्यवसायीहरू पक्राउ परेपछि केही समय तनावको अवस्था सिर्जना भएको थियो। स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मी परिचालन गरिएको थियो।
