सुनसरी- नेकपा एमालेका सचिव तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाँडै पुनर्गठन हुने संकेत दिएका छन्। सोमबार विराटनगरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यसअघि पार्टीहरूबीच भएको सहमतिअनुसार नै मन्त्रिपरिषदको पुनर्गठन हुने बताए।
राईका अनुसार, कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार नेतृत्व परिवर्तन पनि तोकिएको समयमा गरिनेछ। वर्तमान सरकारलाई उनले निर्वाचनको तयारीभन्दा राजनीतिक द्वन्द्व बढाउन केन्द्रित रहेको आरोप समेत लगाए। तर उनले भने, “निर्वाचनको अवस्था आए हामी पूर्ण रूपमा तयार छौं।”
सचिव राईले संविधानलाई सही मार्गमा ल्याउनका लागि संसद पुनःस्थापना, सर्वपक्षीय सरकार गठन, संविधान संशोधन र त्यसपछि मात्र निर्वाचन आवश्यक रहेको बताए।
एमालेको एघारौँ महाधिवेशनको सन्दर्भमा उनले भने, नेतृत्व चयन प्रक्रियामा दुई स्पष्ट प्यानलबीच प्रतिस्पर्धा भए पनि पार्टी एकताबद्ध रहेको छ। साथै, पराजित सदस्यको सम्मान गर्दै विजयी सदस्यलाई सहयोगको आधारमा पार्टीभित्र जिम्मेवारी बाँडफाँड गरिने पनि उनले जानकारी दिए।
