धनकुटा –धनकुटाको महालक्ष्मी नगरपालिका–२ मा किबीबाट वाइन उत्पादन गर्ने उद्योग सञ्चालनमा आएपछि स्थानीय किसानलाई ठुलो राहत पुगेको छ। बजार नपाएर खेर जाने अवस्थामा रहेका साना तथा मझौला किबी अब गाउँमै खपत हुन थालेका छन्।
स्थानीय दुर्गामणि पौडेलले काठमाडौँबाट फर्किएर घुमाउनेस्थित तोरीबारीमा करिब रु १० करोड लगानीमा किबी वाइन उद्योग स्थापना गरेका हुन्। पाँच सय टनसम्म किबी खपत गर्ने क्षमताको यस उद्योगले हाल गाउँका किसानबाट प्रतिकिलो रु ५० देखि रु ८० सम्ममा किबी खरिद गरिरहेको छ।
ठूला आकारका किबी सहजै बिक्री भए पनि साना तथा मझौला किबी बजारमा बिक्न नसक्ने समस्या लामो समयदेखि रहेको किसानहरू बताउँछन्। तर उद्योग सञ्चालनमा आएपछि ती सबै किबी खरिद हुन थालेकाले करिब ५० परिवार प्रत्यक्ष रूपमा लाभान्वित भएको माझखर्कका किसान टीकाराम गुरुङले बताए।
सात वर्षदेखि किबीखेती गर्दै आएका किसानले अब बजार खोज्दै टाढा–टाढा धाउनुपर्ने बाध्यता हटेको बताएका छन्। यद्यपि किबीको मूल्य प्रतिकिलो रु १०० भन्दा माथि नपुग्दासम्म किसानलाई अझै कठिनाइ रहने भन्दै गुरुङले प्रत्यक्ष अनुदानको व्यवस्था गर्नुपर्ने सुझाव दिए।
१५ वर्षअघि तोरीबारी गाउँमा किबीखेती सुरु गरेका तिलबहादुर पौडेलका अनुसार उद्योग स्थापनापछि बजारको मुख्य समस्या समाधान भएको छ। “भाउ घटबढ भइरहे पनि अब किबी बेच्न ढुक्क भएको छ,” उनले भने। उद्योगका कारण सो गाउँका ७० भन्दा बढी किसान लाभान्वित भएको उनको भनाइ छ।
वार्षिक रु १५ लाखसम्म किबी बिक्री गर्दै आएका पौडेलले अब काठमाडौँ, विराटनगर, झापा जस्ता स्थानमा किबी ढुवानी गर्नुपर्ने बाध्यता अन्त्य भएको बताए।
छ वर्षअघि यस वडालाई किबी पकेट क्षेत्र घोषणा गरिएपछि तोरीबारी, घुमाउने, माझखर्क र खाप्राङ गाउँका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका थिए। उत्पादन बढेसँगै बजारको समस्या चुलिँदै गएको अवस्थामा उद्योग सञ्चालनले करिब एक सय किसानलाई राहत पुगेको वडाध्यक्ष पदम रखाल मगरले जानकारी दिए।
उद्योग सञ्चालक पौडेलका अनुसार ‘वसन्तपुर तीनजुरे बेभ्रेज प्रालि’मार्फत आगामी माघदेखि ‘तीनजुरे बगान’ ब्रान्डको किबी वाइन बजारमा ल्याउने तयारी अन्तिम चरणमा पुगेको छ। यस वर्ष आठदेखि १० टन किबी खपत सुरु गरेको उद्योगले आगामी दिनमा कोशी प्रदेशभरिका ५० टन किबी खपत गर्ने लक्ष्य लिएको छ।
