विराटनगर- मनमोहन प्राविधिक विश्वविद्यालयले नेपालमै पहिलो पटक सिभिल इन्जिनियरिङमा प्राविधिक स्नातक (विटेक) कार्यक्रम सञ्चालन गर्न लागेको छ। यो कार्यक्रम तीन वर्षे डिप्लोमा पूरा गरेका जुनियर सिभिल ईन्जिनियर (जुई) हरूका लागि स्विस सरकारसँगको सहकार्यमा सुरु हुनेछ।
विश्वविद्यालय र स्विस साझेदारबीचको सम्झौताअनुसार, पाठ्यक्रममा कार्य–आधारित सिकाइ, उद्योगसँग सम्बन्धित मोड्युल र पेशागत दक्षता मापदण्ड समेटिनेछ। यसले जुनियर ईन्जिनियरहरुलाई औद्योगिक क्षेत्रमा प्रत्यक्ष अनुभव र दक्ष जनशक्ति प्रदान गर्ने लक्ष्य राखेको छ।
डिन डा. रेखा श्रेष्ठका अनुसार, विटेक कार्यक्रमले नेपाली युवालाई उच्चस्तरीय प्राविधिक शिक्षा दिनुका साथै देशको औद्योगिक क्षेत्रलाई नयाँ दिशा दिन मद्दत गर्नेछ। स्विस कन्ट्रयाक्टका कन्ट्री डायरेक्टर संजय कार्कीले पनि यस सहकार्यले नेपालमा सीप विकास र श्रम बजारलाई सुदृढ पार्ने विश्वास व्यक्त गरे।
यसअघि तीन वर्षे डिप्लोमा गरेका जुनियर ईन्जिनियरहरुको लागि प्राविधिक शिक्षा निरन्तरता नहुँदा चुनौती थियो। विटेक कार्यक्रमले उनीहरुको पेशागत उन्नतिमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
