मोरङ : मोरङ जिल्ला प्रहरी कार्यालयले विभिन्न समयमा बरामद गरेको करिब ५ हजार ५ सय २७ किलो गाँजा सुरक्षित रूपमा नष्ट गरेको छ।
शुक्रबार जिल्ला प्रहरी कार्यालयको परिसरभित्रै ठूलो खाल्डो खनेर उक्त गाँजा गाडी–पुरेर नष्ट गरिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी कवित कटवालका अनुसार यसअघि जस्तै खुला ठाउँमा आगोझैँ बालेर नष्ट गर्दा वातावरणमा नकारात्मक असरदेखिनुका साथै धुँवाका कारण स्थानीयवासीबाट गुनासा आउने गरेको थियो।
त्यसअघि कार्यालय परिसरबाहिर खाल्डो खनी गाडिएका सामान कोही व्यक्तिले फेरि खनेर लैजाने घटना समेत देखिएकाले यसपटक कार्यालयभित्रै सुरक्षासहित खाल्डो खनेर नष्ट गर्ने उपाय अपनाइएको एसपी कटवालले बताए।
प्रहरीका अनुसार कोशी प्रदेशका पहाडी जिल्ला धनकुटा र भोजपुरमा व्यवसायिक रूपमा गाँजा खेती हुने गरेको छ। त्यहाँ उत्पादन भएको गाँजा तस्करीमार्फत मोरङ, सुनसरी र झापा हुँदै भारततर्फ पठाइने क्रम निरन्तर रहेकाले नियन्त्रण र नष्टिकरण दुवै पक्ष कडाइका साथ अघि बढाइएको प्रहरीको भनाइ छ।
