काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस (डिसेम्बर ३) को अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका नागरिक, परिवारजन तथा सम्बन्धित क्षेत्रमा क्रियाशील संस्थाहरूमाथि शुभकामना व्यक्त गर्दै समावेशी समाज निर्माणमा सबैको साझा सहयोग आवश्यक रहेको बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार नेपालको संविधानदेखि अन्तर्राष्ट्रिय सन्धि–महासन्धि र विद्यमान कानुनसम्मले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनीतिक अधिकारलाई मजबुत आधार प्रदान गरेका छन्। उनले सेवासुविधामा प्राथमिकता दिने राज्य नीतिले अपाङ्गता भएका व्यक्तिको आत्मसम्मानसहितको जीवनयापन सुनिश्चित गर्न सहयोग पुर्याइरहेको उल्लेख गरिन्।
शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा र पुनःस्थापनामा सहज पहुँच विस्तार गर्न सरकार निरन्तर काम गरिरहेको जानकारी दिँदै कार्कीले दिगो विकास लक्ष्य हासिल गर्न अपाङ्गता भएका व्यक्तिको नेतृत्व र सक्रिय सहभागिता अपरिहार्य हुने स्पष्ट गरिन्।
उनका अनुसार अपाङ्गता भएका व्यक्तिले भोगिरहेका भौतिक, संचार, दृष्टिकोणजन्य तथा कानुनी अवरोध हटाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वित प्रयास आवश्यक छ। “सहज र सम्मानजनक वातावरण निर्माण गर्नु तीनै तहको सरकारको साझा जिम्मेवारी हो,” प्रधानमन्त्री कार्कीले भनिन्।
