इनरुवा — विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको रामधुनी नगरपालिका–१, पश्चिम बस स्टेसन क्षेत्रबाट ब्राउनसुगरसहित चार जनालाई पक्राउ गरेको छ।
मंगलबार दिउँसो लागूऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले शंकास्पद रूपमा एक–आपसमा कुराकानी गरिरहेका व्यक्तिहरूलाई चेकजाँच गर्दा उनीहरू लागूपदार्थसहित फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगरपालिका–१८ का २० वर्षीय मोहमद साबिर, सोही ठाउँका २४ वर्षीय रहमत अली र २४ वर्षीय मोहमद असलम रहेका छन्।
कानुन बमोजिम गरिएको खानतलासीमा मोहमद असलमको साथबाट ब्राउनसुगरजस्तो १४१.४६० ग्राम (एक सय एकचालीस ग्राम, चार सय साठी मिलिग्राम) लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ।
चारै जनालाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पकलीमा राखिएको प्रहरीको भनाइ छ।
