जनकपुरधाम — बिहान साढे ८ बजेका लागि आह्वान भएको मधेश प्रदेशसभाको बैठक झण्डै घण्टौँ बित्दासमेत सुरु हुन सकेको छैन। मुख्यमन्त्री सरोज कुमार यादवले विश्वासको मत लिन सचिवालयमा पत्र बुझाएपछि उपसभामुख बबिता राउतले बैठक बोलाए पनि कार्यसूचीमै अन्योल देखिएको छ।
प्रदेशसभा भवनभित्र यसबेला कार्य व्यवस्था परामर्श समितिको बैठक जारी छ भने बाहिर सांसदहरू प्रतीक्षारत छन्। बैठकलाई लक्षित गर्दै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ। जेनजी आन्दोलनका क्रममा जलेर नष्ट भएको सुरक्षा स्क्यानिङ मेसिन अझै मर्मत नभएकाले तालिमप्राप्त कुकुरमार्फत जाँच हुँदैछ।
गत कात्तिक २४ गते प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एमाले संसदीय दलका नेता यादवलाई ‘ठूलो दल’को हैसियतमा मुख्यमन्त्री नियुक्त गरेकी थिइन्। तर नियुक्ति असंवैधानिक भएको दाबी गर्दै नेपाली कांग्रेससहित सात दलका ७४ सांसदले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सोमबार सर्वोच्चले फैसला सुनाउँदै मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिने व्यवस्था मिलाउन परमादेश जारी गर्यो। यद्यपि मुख्यमन्त्री यादवले आफूले परमादेशपत्र दिउँसो ३ बजे मात्र प्राप्त गरेको भन्दै सोही समयमा विश्वासको मत प्रक्रिया सुरु गरिदिन सचिवालयलाई पत्र पठाएका थिए।
यही राजनीतिक–संवैधानिक रस्साकस्साबीच आज बोलाइएको प्रदेशसभा बैठक कहिले सुरु हुने भनेर स्पष्ट संकेत भने देखिएको छैन।
