ईनरुवा। सुनसरीको इनरुवा नगरपालिका–७ चाँदवेलामा सशस्त्र प्रहरीले बिहीबार बिहान ठूलो परिमाणको गाँजा नियन्त्रणमा लिँदै एक जनालाई पक्राउ गरेको छ। नियन्त्रण प्रक्रिया दौरान परिस्थितिजन्य सुरक्षा चुनौतीका कारण एक राउण्ड हवाई फायर समेत गर्नुपरेको सशस्त्र प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरी बल बोर्डर आउटपोस्ट साहेवगञ्जबाट खटिएको टोलीले चाँदवेलाबाट दक्षिणतर्फ गइरहेको बा १५ च २१७३ नम्बरको स्कारपियो पिकअप र को २७ प ८३३१ नम्बरको मोटरसाइकल रोक्की जाँच गर्दा प्लास्टिकका प्याकेटहरूमा बेरिएको ठूलो परिमाणको गाँजा भेटिएको थियो।
जाँचका क्रममा बोर्डर सुरक्षादलले १ क्विन्टल ५३ किलो गाँजा बरामद गरेको छ। घटनास्थलमै स्कारपियो चालक २० वर्षीय आदित्य चौधरीलाई पक्राउ गरिएको छ भने मोटरसाइकल चालक अँध्यारोको मौका छोपी फरार भएका छन्।
सशस्त्र प्रहरीले बरामद गाँजा, स्कारपियो तथा नियन्त्रणमा लिइएका चौधरीलाई आवश्यक थप कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाएको जनाएको छ। फरार रहेका व्यक्तिहरूको खोजी तीव्र पारिएको छ।
