इनरुवा- सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा ‘लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान–२०२5’ बिहीबार औपचारिक रूपमा शुभारम्भ गरिएको छ। गाउँपालिकाकी उपाध्यक्ष सुनिता कुमारी उराँवको अध्यक्षता र गाउँपालिका अध्यक्ष अजमल अख्तर आजादको मुख्य आतिथ्यमा आयोजित कार्यक्रममा अभियानको सुरुवात गरिएको हो।
महिला तथा बालबालिका शाखा प्रमुख तुलसा निरौलाका अनुसार कार्यक्रमले स्थानीय तहलाई लैंगिक हिंसा अन्त्यका लागि थप जिम्मेवार र सक्रिय बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विनोद कुमारी अधिकारी, लेखा अधिकृत दिपेन्द्र कुमार चौधरी, वडा अध्यक्षहरू, स्थानीय महिला समूह तथा विभिन्न क्षेत्रका सरोकारवालाहरू उपस्थित थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि अध्यक्ष आजादले लैंगिक हिंसा समाजको मूल विकास अवरोध भएकाले “स्थानीय सरकार संवेदनशील, प्रतिक्रियाशील र कार्यान्वयनमुखी बन्नु जरुरी छ” भन्दै स्पष्ट सन्देश दिए। उनले सुरक्षित र न्यायपूर्ण समाज निर्माणमा सबै पक्षको सक्रियता अपरिहार्य रहेको पनि उल्लेख गरे।
यस्तै, ओरेक नेपालको सहकार्यमा व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ) सम्बन्धी छलफल कार्यक्रम पनि सम्पन्न भयो। स्थानीय तहमा दर्ता गतिविधि सुदृढ गर्न जनचेतना अत्यावश्यक रहेको सरोकारवालाहरूले बताए।
कार्यक्रमको अन्त्यमा सहभागीहरूले दिप प्रज्वलन गर्दै हिंसामुक्त गाउँपालिका निर्माणको प्रतिवद्धता जनाए।
