विराटनगर । खुल्ला सीमा क्षेत्र हुँदै भइरहेको चोरी–पैठारी र अवैध निकासी नियन्त्रण गर्न सशस्त्र प्रहरीले उच्चस्तरीय कमाण्ड टोली फिल्डमा परिचालन गरेको छ। कोशी प्रदेशका प्रस्तावित सीमा सुरक्षा गुल्म मोरङ र काकडभिट्टाका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिगविजय सुवेदीलाई नेतृत्व जिम्मेवारी दिइएपछि टोलीले चारै जिल्लाका संवेदनशील नाकामा कडाइका साथ निगरानी सुरु गरेको छ।
सुनसरीको बेलबराहवस्थित सशस्त्र प्रहरी बाहिनीका डिआईजी कुमार न्यौपानेका अनुसार एसएसपी सुवेदी नेतृत्वको टोलीले नाका सुरक्षासँगै बोर्डर आउटपोष्टहरूको अवस्था, तस्करीसेन्टरका सम्भावित रुट तथा सुरक्षा संयन्त्रका कमजोरीको प्रत्यक्ष अध्ययन गरिरहेको छ। तर, तस्करी नियन्त्रणका मुख्य संयन्त्र मानिने भन्सार प्रशासन भने उदासीन रहेको भन्दै उनले कडा प्रश्न उठाएका छन्।
उनका अनुसार भन्सार परिसरबाटै चोरी–पैठारी भइरहेका गतिविधि प्रविधिको पहुँचमा हुँदाहुँदै पनि अधिकारीहरू बेखबर जस्तो देखिनु शंकास्पद छ। भन्सार राजस्व गस्ती टोलिले सशस्त्र प्रहरीसँग समन्वय नगर्ने, साथै भन्सार कर्मचारीदेखि प्रमुखसम्म एजेण्टसँग मिलेमतो रहेको आशंका सतहमा आउने गरेको उनले बताए। कार्तिक १७ गते कुन्दन मण्डलको जाँचपास प्रकरणले भन्सारभित्रकै बदनियत उजागर गरेको उनले उल्लेख गरे।
डिआईजी न्यौपानेका अनुसार केन्द्रको विशेष टोलीले सीमा नाकामा सशस्त्र प्रहरीका कुनै कमजोरी वा मिलेमतो छ कि छैन भन्ने विषयमा समेत प्रत्यक्ष निगरानी गर्नेछ। मिलेमतो पुष्टि भए तत्काल कारबाही सिफारिस गरिने उनले चेतावनी दिए।
तस्करी र अवैध ओसारपसारबारे सार्वजनिकबाट सूचना संकलन गर्न सशस्त्रले एसएसपी सुवेदीको नम्बर ९८५१००१९४२ समेत सार्वजनिक गरेको छ। हाल कोशी प्रदेशमा सशस्त्रका १० प्रस्तावित सीमा सुरक्षा गुल्म र ४८ बोर्डर आउटपोष्टमार्फत निगरानी जारी छ।
डिआईजी न्यौपानेका अनुसार सशस्त्रले तस्करको सामान नियन्त्रणमा लिए पनि कारबाही अधिकार भन्सार र राजस्व विभागकै भएकाले ‘हेरेर बस्नुपर्ने बाध्यता’ रहेको छ।
सीमा सुरक्षामा बढ्दो निगरानीले तस्करी नियन्त्रण कति प्रभावकारी हुन्छ भन्नेमा सबैको ध्यान गएको छ।
