सुनसरी- मधेश प्रदेश सरकारले प्रदेशभित्रका स्नातक तह उत्तीर्ण तर बेरोजगार युवाका लागि जीवननिर्वाह भत्ताको प्रक्रिया अघि बढाएको छ। बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री सरोजकुमार यादवले १८ देखि ३५ वर्षसम्मका स्नातक पास युवा—जसलाई राष्ट्रिय युवा नीतिले युवा समूहका रूपमा परिभाषित गरेको छ—उनीहरूलाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्ता दिने तयारी सुरु गरिएको जानकारी दिए।
मुख्यमन्त्री यादवका अनुसार करिब १ लाख ४८ हजार स्नातक तह सकाएका युवाहरू अहिले बेरोजगारको सूचीमा छन्। “पढेलेखेका युवाहरू बेरोजगार भएपछि गलत गतिविधितर्फ आकर्षित हुने जोखिम बढ्छ, त्यसैलाई रोकथाम गर्न सरकारले जीवननिर्वाह भत्ता उपलब्ध गराउन लागेको हो,” उनले भने।
यही कार्यक्रमसँगै बेमौसमी वर्षाले धानबालीमा ठूलो क्षति व्यहोरेका किसानहरूलाई समेत राहत दिने निर्णय प्रदेश सरकारले गरेको छ। डुबानका कारण उत्पादन गुमाएका किसानलाई प्रतिकट्ठा १ हजार ५ सय रुपैयाँ राहत प्रदान गरिने उल्लेख गर्दै मुख्यमन्त्री यादवले, “किसानले आफ्नो क्षति विवरण स्थानीय तहमा दर्ता गरेपछि सोही आधारमा राहत वितरण गरिनेछ,” स्पष्ट पारे।
सरकारका यी दुई निर्णयलाई प्रदेश सरकारले शिक्षा, कृषि तथा सामाजिक सुरक्षामुखी पहलका रूपमा लिएको छ।
