इटहरी । पूर्वी नेपालमा दुर्लभ मानिने मन्डारिन हाँस चार वर्षपछि पुनः अवलोकन गरिएको छ। इटहरी उपमहानगरपालिका–२० तरहरा स्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रको १ नं. पोखरी क्षेत्रमा एक पोथी मन्डारिन हाँस भेटिएकाे हो।
वाइल्डलाइफ फोटोग्राफर निशान शर्माले मंसिर ८ गते बिहान उक्त प्रजातिलाई क्यामेराबद्ध गरेका हुन्। नेपालमा नियमित रूपमा नदेखिने, अत्यन्तै आकर्षक र सुन्दर प्रवासी चरा भएकोले यो रेकर्ड विशेष मानिएको छ। जैविक विविधता, प्रवासी चराहरूको मार्ग पहिचान तथा संरक्षण दृष्टिकोणले यो निकै मूल्यवान तथ्य भएको संरक्षणविद्हरू बताउँछन्।
हल्का खैरो शरीर, आँखाको वरिपरि सेतो घेरा र पखेटामा देखिने कालो–सेतो विशेष आकृतिका कारण मन्डारिन हाँसहरू सजिलै चिनिन्छन्। पानीमा गोता लगाएर आहार खोज्ने, राम्रो पौडी खेल्ने र रूखका हाँगामा समेत बस्ने क्षमता भएका यी चराहरू सामान्यतया चीन तथा पूर्वी एसियाका ताल–पोखरी वरपर पाइन्छन्। हिउँदयाममा भने केही समूह दक्षिणतिर सर्दै भारत तथा नेपालको केही भागमा देखापर्ने प्रजाति मानिन्छ।
कोशी टप्पु क्षेत्रसँग सम्बद्ध पंक्षीविद् अनिश तिम्सिना र कृष्ण थापाले तरहरामा भेटिएको उक्त हाँस पोथी मन्डारिन भएको पुष्टि गरेका छन्। यद्यपि नेपालमा यसको उपस्थिति अत्यन्तै न्यून रहेको तथ्य Himalayan Nature Red Data List ले पनि पुष्टि गर्छ।
पूर्वी नेपालमा यसअघि सन् २०२० मा सुनसरीस्थित बर्जु तालमा एक भाले मन्डारिन हाँस रेकर्ड गरिएको थियो। त्यसपछि चार वर्षपछि तरहरामा पुनः भेटिएको यस प्रजातिले यस क्षेत्रलाई सम्भावित प्रवासी मार्ग वा अस्थायी विश्रामस्थलका रूपमा पनि संकेत गरेको विज्ञहरू बताउँछन्।
तरहरा क्षेत्र हालैका वर्षहरूमा चरासम्बन्धी महत्वपूर्ण स्थलका रूपमा उदाउँदै आएको छ। यहाँ लेसर एडजुटेन्ट स्टर्क (भुँडीफोर गरुड), ग्रेट मैना, कमन पोचार्ड, लेसर व्हिसलिङ डक, ब्ल्याक बाजा, येलो बिटरन लगायतका प्रजातिहरूले सफलतापूर्वक गुँड बनाउँदै आएका छन्। मन्डारिन हाँसको नयाँ रेकर्डले यस क्षेत्रको जैविक समृद्धि थप प्रस्ट बनाएको संरक्षणकर्मीहरूको भनाइ छ।
