सुनसरी- झापाको दमकबाट प्रहरीले लुटिएको अवस्थामा हराइरहेका दुई थान पेस्तोलसहित तीन जनालाई पक्राउ गरेको छ। जेन–जी प्रदर्शनको समयमा महानगरीय प्रहरी कार्यालय काठमाडौंबाट हराएका ती पेस्तोल झापामा लुकाइ–छिपाइ राखिएको अवस्थामा फेला परेको प्रहरीको दावी छ।
लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय काँकरभिट्टाका प्रहरी नायव निरीक्षक कुमार सोमेस लामिछानेको नेतृत्वमा खटिएको टोलीले दमक–८ मा डेरा गरिरहेका २६ वर्षीय सरोज पुरीलाई पहिलो चरणमा नियन्त्रणमा लिएको थियो। पुरीलाई कोठा बाहिर हिँडिरहेको अवस्थामा पक्राउ गरिएको थियो।
तलासीका क्रममा उनको साथबाट टाइप–५४ चाइनिज पेस्तोल एक थान र १५ राउण्ड गोली बरामद भएको ब्युरोको भनाइ छ। प्रारम्भिक बयानमा पुरीले अर्को पेस्तोल दमक–६ प्रशान्तिटोलका २९ वर्षीय विश्व लिङ्देनकहाँ रहेको बताएको प्रहरीले जनाएको छ।
त्यसैका आधारमा प्रहरीले लिङ्देनलाई घरमै पुगेर पक्राउ गर्यो। सोधपुछमा उनले उक्त पेस्तोल इलाम चुलाचुली–४ का ३० वर्षीय पवन हाङसुङ्वालाई २० हजार रुपैयाँमा बिक्री गरेको स्वीकारेका थिए।
संयुक्त प्रहरी टोली हाङसुङ्वाको बारी पुग्दा ठूलो खाल्डो खनेर रातो प्लास्टिकको झोलाभित्र अर्को टाइप–५४ पेस्तोल र ५ राउण्ड गोली लोड भएको अवस्थामा फेला परेको प्रहरीको भनाइ छ। बरामद पेस्तोलमा खिया समेत लागेको बताइएको छ।
तीनै जना अभियुक्तलाई पेस्तोल र २० राउण्ड गोलीसहित थप आवश्यक कारबाहीका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
