सुनसरी । भारततर्फ तस्करी गर्न तयारी अवस्थामा राखिएको ठूलो परिमाणको गाँजा सशस्त्र प्रहरीले पर्साबाट बरामद गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं–१३ गण हेडक्वार्टर पर्साबाट खटिएको विशेष टोलीले विन्दवासिनी गाउँपालिका–५, बटसौरामा परालको कुन्यूभित्र लुकाइ राखिएको २१३ किलो गाँजा फेला पारेको हो।
गोप्य सूचनाका आधारमा गरेको अपरेसनअन्तर्गत, २० पोका पारालको कुन्यूभित्र मिलाएर लुकाइएको अवस्थामा गाँजा भेटिएको सशस्त्र प्रहरीले जनाएको छ।
उक्त अपरेसन सशस्त्र प्रहरी निरीक्षक दीपेन्द्र प्रकाश मल्लको कमान्डमा सञ्चालन गरिएको थियो। टोलीले गाउँको पराल भण्डारण क्षेत्रलाई घेराबन्दी गर्दै खोजतलास गर्दा लागूऔषध फेला परेको हो।
सशस्त्र प्रहरीका अनुसार बरामद गाँजाको थप अनुसन्धान तथा कानूनी प्रक्रिया अघि बढाइनेछ।
तस्करीको तयारी कहाँबाट र कसरी भइरहेको थियो भन्नेबारे आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
