काठमाडौं । विदेशमा बसोबास गर्ने नेपालीलाई प्रत्यक्ष रूपमा मताधिकार दिलाउने प्रक्रियालाई अन्तरिम सरकारले उच्च प्राथमिकताका साथ अघि बढाइरहेको ऊर्जा, जलश्रोत, भौतिक तथा सहरी विकास मन्त्री कुलमान घिसिङले बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को नागरिकता तथा भोटिङ राइट्स समितिद्वारा आइतबार आयोजित वेबिनारमा सम्बोधन गर्दै उनले विदेशी भूमिबाटै मतदान गर्न सकिने व्यवस्था कार्यान्वयनका लागि आवश्यक कानूनी तथा प्राविधिक गृहकार्य तीव्र गतिमा भइरहेको जानकारी दिए।
उनका अनुसार गृह मन्त्रालयले हाल दुई महत्वपूर्ण विषय—एनआरएन नागरिकता र विदेशमा रहेका नेपालीको भोटिङ अधिकार—माथि निर्वाचन आयोगसँग निरन्तर समन्वय गर्दै तयारी अघि बढाइरहेको छ। “समयाभावको चुनौती छ, तर विदेशमा रहेका नेपालीले अब मतदान गर्न पाउनै पर्छ भन्ने सरकारको अडान छ,” मन्त्री घिसिङले भने।
खाडी मुलुकहरूमा रहेका नेपालीका लागि सुरक्षा, प्राविधिक प्रक्रिया र त्यहाँका सरकारहरूसँग सहकार्य आवश्यक हुने उल्लेख गर्दै उनले मतदान प्रणालीलाई व्यावहारिक बनाउने दिशामा पहल चर्किएको बताए। साथै, गोर्खा वंशजका लागि नागरिकताको निरन्तरताले लगानी र सीप प्रवाह बढाउने भएकाले सरकार सकारात्मक रहेको धारणा राखे।
छलफलमा एनआरएनए आइसिसी अध्यक्ष महेश कुमार श्रेष्ठले अब विदेशी नेपालीको मताधिकारलाई ढिलाइ नगरी पाइलट परियोजनाबाट नै कार्यान्वयन सुरू गर्नुपर्नेमा जोड दिए।
