विराटनगर । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ स्थित तेम्बा बजारमा मंगलबार राति भएको भीषण आगलागीले चार परिवारको सम्पत्ति जलेर पूर्ण रूपमा नष्ट हुँदा करिब एक करोड १८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। राति करिब ११ बजे सुरु भएको आगो बुधबार बिहान ६ बजेतिर स्थानीय बासिन्दा, नेपाली सेना र नेपाल प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा आएको हो। आगलागी कसरी भयो भन्ने स्पष्ट कारण भने खुलेको छैन।
रातिको समयमा लागेको आगोले प्रभावित परिवारलाई केही पनि सुरक्षित गर्न नदिँदा घरभित्र रहेका सबै सामान खरानी बनेका छन्। आगलागीबाट स्थानीय इन्द्रकुमार लिम्बु, राजकुमार लिम्बु, अनिल लिम्बु र विष्णुप्रसाद लिम्बुका घर पूर्ण रूपमा जलेका हुन्।
इन्द्रकुमार लिम्बुको ढुङ्गामाटो र काठले बनेको तीन तले घर जलेर नष्ट भयो। घरमा रहेका अन्नपात, भाँडाकुँडा, लत्ताकपडा, काठपात, दुई तोला सुन, दुई लाख नगद, किराना सामग्री सबै जलेका छन्। सोही घरमा भाडामा बस्ने दोर्ची शेर्पाका २५ मन अलैंची र १० कुखुरा समेत नष्ट भएका छन्।
राजकुमार लिम्बुको तीन तले घर तथा घरभित्र रहेका अन्नपात, भाँडाकुँडा, चार तोला सुन, १५ तोला चाँदी, दुई लाख नगद, किराना सामग्री र १२ कुखुरा जलेका छन्। घरअगाडि पार्किङ गरिएको मे १० प ८२४६ नम्बरको पल्सर मोटरसाइकल पनि जलेर नष्ट भएको छ।
अनिल लिम्बुको घरमा रहेका अन्नपात, भाँडाकुँडा, दुई तोला सुन, एक तोला चाँदी, तीन लाख नगद, किराना सामान र २२ कुखुरा जलेका छन्।
विष्णुप्रसाद लिम्बुको ढुङ्गामाटो र काठले बनेको एक तले घर समेत पूर्ण रूपमा जलेर नष्ट भएको छ। घरभित्रका अन्नपात, लत्ताकपडा, भाँडाकुँडा तथा एक लाख नगद जलेका छन्। साथै घरअगाडि पार्किङ गरिएका मे १ ज ३००३ महेन्द्र म्याक्स र ग ३ च ९८४७ बोलेरो गाडीमा बाहिरी क्षति पुगेको छ।
आग नियन्त्रणका लागि नेपाली सेनाको वीरदल गण, सहायक सेनानी टेकबहादुर साउदको कमान्डमा रहेको टोली तथा प्रहरी चौकी साँवाका प्रहरी नायब निरीक्षक ख्यामबहादुर श्रेष्ठको टोली सक्रिय थियो। स्थानीयवासीले पाइप, बाल्टिन र गाग्रीमार्फत पानी हाल्दै आगो निभाउन सहयोग गरेका थिए। प्रहरीले आगलागीको कारणबारे अनुसन्धान सुरु गरेको जनाएको छ।
