इटहरी । करिब तीन दिनदेखि बेपत्ता रहेकी इटहरी–२ की ३५ वर्षीया मञ्जु पौडेल निरौला सर्दु जलाधार परिसरको एक दुर्गम खोल्सामा मृत फेला परेकी छन्। प्रारम्भिक अवस्थामै घटना शंकास्पद देखिएको प्रहरीले जनाएको छ।
२४ कार्तिक बिहान घरबाट निस्केकी मञ्जु साँझसम्म नफर्केपछि परिवारले इलाका प्रहरी कार्यालय इटहरीमा खोजीका लागि निवेदन दिएको थियो। प्रहरीको निरन्तर खोजीका क्रममा २७ कार्तिकमा धरान–४ बौद्ध विहार नजिक, कोशी लोकमार्ग छेउमै फेला परेको रातो लेडीज स्विटर, कालो चप्पल र खैरो झोलाले घटनाप्रति थप शंका उत्पन्न गराएको थियो।
इलाका प्रहरी कार्यालय धरानका डीएसपी भीषणबाबु राईका अनुसार शव भेटिएको सर्दु क्षेत्र धरान बजारबाट करिब १३ किलोमिटर उत्तर–पूर्वतर्फ पर्न जाने दुर्गम र एकान्त भूभाग हो। “घटनास्थलको भौगोलिक अवस्था, शवको स्थिति र छेउछाउमा भेटिएका वस्तुहरूबीचको मेलले घटना सहज देखिँदैन,” डीएसपी राईले बताए।
प्रहरीले घटनास्थलको मुचुल्का तयार गरी शवलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा पोष्टमार्टमका लागि पठाइसकेको छ। पोष्टमार्टम रिपोर्ट प्राप्त भएपछि घटनाको कारण, समय र प्रकृतिबारे थप स्पष्टता आउने प्रहरीले जनाएको छ।
यसैबीच, परिवार र स्थानीयवासीले घटनाको निष्पक्ष र छरितो अनुसन्धानको माग गरेका छन्।
