इनरुवा । राष्ट्र, राष्ट्रियता र धर्म–संस्कृतिको मुद्दा उठाउँदै सक्रिय रहेको ‘नागरिक बचाउ महाअभियान’का संयोजक दुर्गा प्रसाईंलाई प्रहरीले गए राति भक्तपुरस्थित घरबाट नियन्त्रणमा लिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले प्रसाईंलाई सार्वजनिक शान्ति भंग हुनेगरी उत्तेजनात्मक अभिव्यक्ति दिएको आरोपमा पक्राउ गरेको जनाएको छ।
यसअघि चैत १५ गते उपत्यकामा भएको हिंसात्मक प्रदर्शनका क्रममा पनि उनलाई प्रहरीले पक्राउ गरेको थियो, तर अदालतको आदेशपछि उनी छुटेका थिए।
प्रसाईं पुनः पक्राउ परेसँगै उपत्यकामा विरोध प्रदर्शन भड्किन सक्ने संकेत पाएका सुरक्षनिकायले काठमाडौं, ललितपुर र भक्तपुरका सबै युनिटहरूलाई उच्च सतर्कता अपनाउन निर्देशन जारी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
