सुनसरी। सुनसरीको इटहरी उपमहानगरपालिका–१२ मा सञ्चालन हुँदै आएको एक फार्मेसीको आवरणमा ठूलो परिमाणमा नियन्त्रित औषध भण्डारण तथा बिक्री वितरण भइरहेको गोप्य सूचना पाएपछि प्रहरीले विशेष अपरेसन चलाएको छ। अपरेसनमार्फत ‘नसिव फार्मेसी’ का सञ्चालक दम्पती पक्राउ परेका छन्।
विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुर, इलाका प्रहरी कार्यालय इटहरी र प्रहरी चौकी खनारबाट खटिएको संयुक्त टोलीले ५० वर्षीय नसिव नारायण चौधरीको घरमा छापा हानी विस्तृत खानतलासी गरेको थियो।
खानतलासीका क्रममा प्लास्टिकको बोरामा १९ हजार ८०० क्याप्सुल ट्रामाडोल र ४ हजार ट्याब्लेट डिकोलिक फेला परेको प्रहरीले जनाएको छ। यी दुवै औषधि नियन्त्रित सूची मा पर्ने तथा अत्यधिक दुरुपयोग भइरहेको औषधिको रूपमा चिनिन्छन्।
नियन्त्रित औषधिको ठूलो मात्रा फेला परेपछि प्रहरीले चौधरीसहित उनकी श्रीमती सम्झना चौधरीलाई पनि नियन्त्रणमा लिएको छ।
दुवै जनामाथि लागूऔषध सम्बन्धी मुद्दा दर्ता गरी इलाका प्रहरी कार्यालय इटहरीमार्फत थप अनुसन्धान अघि बढाइिएको कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएको छ।
प्रहरीका अनुसार उनीहरूले फार्मेसीको आडमा अवैध कारोबारलाई लुकाएर लामो समयदेखि यस्ता औषधि भण्डारण र वितरण गर्दै आएको आशंका गरिएको छ।
