विराटनगर । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा करिब तीन करोड कम राजस्व संकलन गरेको छ । जेनजी आन्दोलनका कारण प्रशासनिक भवन जलेर ध्वस्त भएपछि टेन्टमै कार्यालय सञ्चालन गरिरहेको अवस्थामा प्राप्त उपलब्धि ‘निराशाजनक भने नभएको’ महानगरले जनाएको छ।
साउन–असोज त्रैमासिक अवधिमा महानगरले आन्तरिक राजस्वतर्फ ११ करोड ९८ लाख २७ हजार ७७९ रुपैयाँ संकलन गरेको छ। गत वर्ष यही अवधिमा संकलन १५ करोड रहेको थियो। यस्तो विपरीत परिस्थितिमा चलिरहेको व्यवस्थापनलाई हेर्दा १२ करोड आसपासको संकलन पनि स्वीकार्य मानिएको राजस्व महाशाखा प्रमुख सरोज गौतमले बताए।
यो अवधिमा ३५ नयाँ व्यवसाय दर्ता हुँदा त्यही संख्यामा व्यवसाय खारेज भएका छन्। साथै ३ हजार ५५ व्यवसायले नवीकरण गराएका छन्। कार्यालय जलेर टेन्टबाट सेवा दिनुपर्ने बाध्यताबीच पनि व्यवसायजन्य क्रियाकलापमा निरन्तरता रहेको महाशाखाको मूल्यांकन छ।
आइतबारसम्मको तथ्यांकअनुसार चालु वर्षमा महानगरले १४ करोड रुपैयाँ राजस्व संकलन गरिसकेको छ, जुन गत वर्षको १७ करोड भन्दा कम भए पनि ‘उपलब्ध साधन–स्रोतअनुसार उत्कृष्ट प्रगति’ भएको बताइएको छ।
जेनजी आन्दोलनपछिको क्षतिका कारण भवन मर्मत नहुँदासम्मका लागि महानगरले टेन्टमै प्रशासनिक कामकाज र गोष्ठी सञ्चालन गर्दै आएको छ। यही टेन्टमा नै २०८२/०८३ को पहिलो त्रैमासिक समीक्षा बैठक गरिएको हो।
बैठकमा मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत योगेन्द्र दुलाल उपस्थित थिए। राजस्व, आर्थिक विकास, स्वास्थ्य, भौतिक पूर्वाधार, आर्थिक प्रशासन, शिक्षा, कानुन, सामाजिक विकास, भण्डारण, विपद् तथा वातावरण, सूचना तथा नगर प्रहरीसहितका करिब दर्जन शाखा–महाशाखा प्रमुखहरूले आ–आफ्नो कार्यप्रगति प्रस्तुत गरे।
सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाका अनुसार समीक्षा गोष्ठीमा प्रत्येक शाखाले साउन–असोज अवधि भित्र सम्पन्न गरेका गतिविधि, समस्या तथा आगामी योजनाबारे विस्तृत प्रतिवेदन प्रस्तुत गरेको थियो।
