विराटनगर । विराटनगर–७ मेनरोडस्थित अथिति सदन दक्षिणतर्फ रहेको किरण केक पार्लरमा कार्यरत एक महिला कर्मचारीमाथि शुक्रबार दिउँसो पटक–पटक आक्रमण भएको छ। मोरङ कटहरी–२ निवासी पवित्रा राजबंशीमाथि स्थानीय भास्कर बस्नेतले आक्रमण गरेको भिडियो सार्वजनिक भएको हो।
सिसीटिभी फुटेज अनुसार कार्यस्थलमै काम गरिरहेकी राजबंशीमाथि बस्नेत एक्कासी झम्टिएका छन्। फुटेजमा दुवैबीच के विषयमा विवाद भयो भन्ने खुल्न बाँकी छ। घटना बाहिरिएपछि वडा प्रहरी कार्यालय, विराटनगरले बस्नेतलाई तत्काल नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार नियन्त्रणमा लिइएपछि पनि बस्नेतले कार्यालयभित्र उस्तै उग्र व्यवहार दोहोर्याएका थिए। महिलामाथि आक्रमण गरेको अभियोगमा उनलाई पक्राउ गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। बस्नेतको व्यवहार र पछिल्लो पृष्ठभूमिबारे उनका परिवारसँग समेत प्रहरी सोधपुछ जारी छ।
घटनापछि सो पार्लर क्षेत्रमा त्रास र आक्रोश दुवै देखिएको छ। पुलिसले थप विवरण यथाशीघ्र सार्वजनिक गर्ने बताएको छ।
