विराटनगर । भदौ २३ र २४ गतेकाे जेनजी आन्दोलनका समयमा मोरङका विभिन्न प्रहरी कार्यालयमा भएको तोडफोड, आगजनी, हतियार लुटपाट र सुरक्षाकर्मीमाथिको आक्रमणमा संलग्न व्यक्तिमाथि प्रहरीले कारबाही कडा गति दिएकेा छ ।
मोरङ प्रहरीकी सूचना अधिकारी, नायव उपरीक्षक कोपिला चुडाँलका अनुसार हालसम्म पक्राउ परेकाहरूमाथि म्याद थप गर्ने प्रक्रिया सुरु भइसकेको छ । शुक्रबार साँझसम्म उनीहरूको विस्तृत विवरण सार्वजनिक गर्ने तयारी भइरहेको उनले बताइन्।
चुडाँलका अनुसार देशभरै जेनजी आन्दोलनका नाममा सरकारी संरचना तोडफोड गर्ने, हुलदंगा मच्चाउने र प्रहरीलाई लक्ष्य बनाएर आक्रमण गर्ने समूह पहिचान गरी गिरफ्तारी अभियान सञ्चालन भइरहेको छ । मोरङमा समेत जिल्लाका बिभिन्न स्थानबाट संलग्नताका आधारमा व्यक्तिहरूलाई नियन्त्रणमा लिइँदै अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले बिहीबार र शुक्रबार दुई दिनमा पक्राउ परेकालाई अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान अघि बढाउने तयारी गरेको छ । घटनामा संलग्न पुष्टि भइरहेकाहरूलाई क्रमशः पक्राउ गरी कानुनी दायरामा ल्याइने मोरङ प्रहरीले जनाएको छ।
प्रहरी कार्यालयदेखि हतियार कक्षसम्म क्षति पुर्याउने जेनजी आन्दोलनबारे ठोस प्रमाण संकलनसहित अपराधी पहिचान र कारबाहीलाई ‘प्राथमिकता’ दिइएको अधिकारीहरूले बताएका छन्।
