सुझाउ (चीन) — जियाङ्सु प्रान्तको सुझाउस्थित प्रख्यात योङकिङ मन्दिरमा बुधबार बिहान भएको आगलागीले ऐतिहासिक रूपमा महत्वपूर्ण मानिने वेनचाङ मण्डप पूर्णरूपमा क्षतिग्रस्त भएको छ। स्थानीय समय अनुसार बिहान ११:२४ बजे सुरु भएको आगलागीले पुनर्निर्माण गरिएको काठे संरचना पूर्ण रूपमा जलेर नष्ट भएको र कंक्रीटको ढाँचा मात्रै बाँकी रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।
‘वाटर मार्जिन’ का लेखक शि नैआनले एकान्त बसाइका लागि प्रयोग गरेको मानिने यो मण्डपमा आगलागी हुँदा मानवीय क्षति भने नभएको बताइएको छ। आगो नियन्त्रणमा ल्याइएपछि अब यसको कारणबारे अनुसन्धान थालिएको अधिकारीहरूले बताएका छन्।
फेङहुआङ टाउनस्थित योङकिङ मन्दिरको इतिहास झण्डै १५ सय वर्ष पुरानो मानिन्छ। दक्षिणी लियाङ राजवंशकालीन दातोङको दोस्रो वर्ष (इस्वी ५३६) मा स्थापना भएको यो मन्दिरका मूल संरचनाहरू सन् १९५८ मा भत्किएका थिए। त्यसपछि सन् १९९३ मा पुनर्निर्माणको काम सुरू भई सन् १९९९ मा सर्वसाधारणका लागि खुला गरिएको थियो।
सन् २००७ मा यो मन्दिरलाई झाङजियागाङ शहरले संरक्षित सांस्कृतिक अवशेषको सूचीमा समावेश गरेको थियो। वेनचाङ मण्डप पनि यही पुनर्निर्माण परियोजनाअन्तर्गत सन् १९९३ मै पुनः निर्माण गरिएको उल्लेख छ।
अहिले पूर्ण रूपमा क्षतिग्रस्त मण्डपको अवशेष सुरक्षित राख्ने तथा पुनःस्थापना गर्ने विषयमा स्थानीय अधिकारीहरू छलफलमा जुटेका छन्।
