काठमाडौँ । मतदाता नामावली दर्ताका लागि निर्वाचन कार्यालयमा देखिएको अत्यधिक भीड कम गर्न निर्वाचन आयोगले बिहीबारदेखि राष्ट्रिय परिचयपत्रमार्फत अनलाइन दर्ता प्रणाली सुरु गरेको छ। आयोग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले करिब ७२ घण्टाको निरन्तर समन्वयपछि नयाँ सेवा ‘लाइभ’ बनाएपछि अब घरमै बसेर मतदाता नामावली भर्न सकिने सुविधा उपलब्ध भएको हो।
नयाँ सुविधाअनुसार राष्ट्रिय परिचयपत्र (National ID) बनाइसकेका तर मतदाता नामावलीमा नाम छुटेका नागरिकले आयोगको वेबसाइटमा गएर आफ्नो NID नम्बर प्रविष्ट गर्नुपर्छ। त्यसपछि परिचयपत्रमा संकलित व्यक्तिगत विवरण, फोटो र बायोमेट्रिक डेटा स्वतः आयोगको प्रणालीमा आयात हुन्छ। नागरिकले फोन नम्बर, इमेल ठेगाना र मतदान केन्द्र मात्र चयन गर्नुपर्छ। यसले कार्यालयमा गएर फोटो खिच्न, आँखा स्क्यान गराउन वा बुढीऔँलाको बायोमेट्रिक दिनुपर्ने झन्झट पूर्ण रूपमा हटाएको आयोगले जनाएको छ।
राष्ट्रिय परिचयपत्र विभागका अनुसार हाल १ करोड ९० लाखभन्दा बढी नागरिकका विवरण संकलन भइसकेका छन्। तर २०७९ सम्म मतदाता नामावलीमा १ करोड ७९ लाख ८८ हजार मात्र दर्ता थिए। आयोगका अनुसार हिजोसम्म २ लाख ३९ हजार ९४० जनाले नयाँ दर्ता गराएका छन्, तर अझै करिब साढे ७ लाखभन्दा बढी परिचयपत्रधारी मतदाता नामावलीमा नपुगेको अनुमान छ। विदेश जाने नागरिकले पासपोर्टका लागि अनिवार्य रूपमा NID लिएको भए पनि मतदाता दर्तामा चासो नदिएकाले यो संख्या अझै बढ्न सक्ने आयोगको धारणा छ। अब विदेशमै बसेर पनि दर्ता गर्न मिल्नेछ।
यसबीच जेनजी अभियन्ताहरूले सामाजिक सञ्जालमार्फत तीन दिनको पहलपछि प्रणाली सुरु भएको दाबी गरे पनि निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले ‘पूरै काम आयोग र NID विभागका प्राविधिकले गरेको’ स्पष्ट पार्दै बाहिरी हस्तक्षेप नरहेको बताए। जेनजी अभियन्ता भावना राउतले भने आफूहरूले कानुनी सम्भावना बुझाएर आयोगमा दबाब सिर्जना गर्ने मात्र भूमिका खेलेको बताइन्।
