विराटनगर— आठ महिनापछि नवौं विराट गोल्डकप फुटबल प्रतियोगिताको आय–व्यय विवरण सार्वजनिक गरिएको छ। फागुन १९ देखि २८ गतेसम्म सहिद रंगशालामा सम्पन्न प्रतियोगिताबाट करिब तीन लाख रुपैयाँ मुनाफा बचेको आयोजक समितिले जनाएको छ।
उद्योगी नविन रिजालको संयोजकत्वमा सम्पन्न नवौं संस्करणले अघिल्ला दुई संस्करणमा सहनुपरेको घाटालाई उल्टाउँदै सकारात्मक वित्तीय नतिजा निकाल्न सफल भएको ट्रस्टले जनाएको हो। आयोजक विराटनगर फुटबल ट्रस्टले बिहीबार गरेको पत्रकार सम्मेलनमा २ लाख ९४ हजार ३७४ रुपैयाँ बचत भएको औपचारिक जानकारी गराइएको थियो।
संयोजक रिजालले टिकट बिक्री अपेक्षितभन्दा कमजोर हुनु र पास वितरण धेरै भएकाले आम्दानी घटेको बताए। तर पनि टीमवर्क, खर्च व्यवस्थापन र स्थानीय सहयोगका कारण प्रतियोगिता नाफामा निस्किएको उनको भनाइ छ। उनले खेलकुदको विकासमा महानगर र जनसमुदायको सक्रिय भूमिका आवश्यक रहेको उल्लेख गरे।
ट्रस्टका अध्यक्ष किशोरबहादुर शाहीले अबको दशौं संस्करणबारे निर्णय भइनसकेको बताउँदै सरकारी तथा निजी क्षेत्रबाट प्रतिवद्धता अनुरूपको सहयोग नपाउँदा प्रतियोगिताको निरन्तरता चुनौतीमा पर्ने टिप्पणी गरे।
आयोजकका अनुसार नवौं संस्करणमा करिब १ करोड ७ लाख २१ हजार रुपैयाँ आम्दानी भएको थियो भने १ करोड ४ लाख रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ।
