विराटनगर । मोरङ प्रहरीले विराटनगर–६ स्थित केशलिया पुल नजिक फेला परेको ठूलो परिमाणको माछा नियन्त्रणमा लिएर नष्ट गरेको छ। शनिबार साँझ केशलिया खोलामा वेवारिसे अवस्थामा भेटिएका करिब ५० किलो रहु र ५० किलो सिद्रा माछा प्रहरीले नियन्त्रणमा लिएपछि स्थानीय जनप्रतिनिधिको उपस्थितिमा नष्ट गरिएको हो।
मोरङ जिल्ला प्रहरी कार्यालयकी प्रवक्ता डिएसपी कोपिला चुडाँलका अनुसार रहु माछा फ्रिजरमा राखिएको अवस्थामा र सिद्रा माछा बोरामा फेला परेका थिए। स्रोत नखुलेको र संकलन तथा ढुवानीसम्बन्धी कुनै प्रमाण नपाइएकाले कानुनी प्रक्रिया अनुसार उक्त माछा नष्ट गरिएको उनले जानकारी दिइन्।
प्रहरीले अवैध रूपमा माछा संकलन, बिक्री र वितरणमा संलग्न हुने व्यक्तिहरूलाई कारबाही गर्ने चेतावनी समेत दिएको छ।
